रेडियो सानोभेरी १७ औं वर्षमा

रुकुम पश्चिमको मुसिकोटबाट सञ्चालनमा रहेको रेडियो सानोभरी १७ वर्षमा प्रवेश गरेको छ । सिस्ने बहुउद्देश्यीय जनसेवा केन्द्रद्वारा जिल्लाको पहिलो रेडियोको रूपमा २०६४ साल चैत्र २५ गते स्थापना भएको रेडियो सानोभेरी आजबाट १६ वर्ष पूरा भई १७ वर्षमा प्रवेश गरेको हो ।

 

वार्षिकोत्सवको अवसरमा रेडियोले सम्पूर्ण श्रोता, विज्ञापनदाता, संस्थामा कार्यरत कर्मचारी तथा पत्रकार, शुभेच्छुक तथा शुभचिन्तकहरूमा शुभकामना व्यक्त गरेको छ । रेडियोका प्रबन्ध निर्देशक ध्रुवविक्रम बुढाथोकीले प्रेस विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो ।

 

सञ्चार माध्यमको तर्फबाट नागरिकको अभिमत अनुरूप विकास, समृद्धि र उत्पादनको योजना कार्यान्वयनलाई तीव्रता दिई समाजवादको आधार तयार गर्न तथा सङ्घीयताको सबल कार्यान्वयनका लागि राज्यका सबै निकायलाई थप उत्तरदायी बनाउन जोड दिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारबाट भए गरेका कामहरूको प्रचार प्रसार र त्यसमा विकृति देखिए उजागर गर्ने कार्यमा रेडियो सानीभेरी सदैव क्रियाशील रहँदै आएको बताइएको छ । सरकारले अघि सारेको सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यक्रम कार्यान्वयनको क्रममा प्राप्त उपलब्धि र भएका कमी कमजोरीहरू जस्ताको तस्तै जनसमक्ष पुर्‍याउने काममा तटस्थ रूपले सक्रिय रहेका पनि विज्ञप्तिमा जनाइएको छ ।

 

मौलिक कला–संस्कृतिको जगेर्ना, स्थानीय प्रतिभाहरूको प्रस्फुटन, जनहितकारी सन्देश प्रवाह जस्ता नियमित कार्यहरूलाई पनि यस रेडियोले अग्रस्थान दिँदै आएको छ । त्यस्तै प्रबन्धक बुढाथोकीले आफ्नै स्वामित्वको आधुनिक प्रसारण भवनबाट सञ्चार सेवा प्रवाह गर्ने अवसर सृजना गरिदिनुहुने राजनैतिक तथा प्रशासनिक नेतृत्वहरूप्रति आभारसहित विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ ।