रुकुम पश्चिममा २९ हजार लाभग्राही कायम हुदा २२ हजार अस्थायी आवास निर्माण

रुकुम पश्चिममा २९ हजार लाभग्राही कायम हुदा २२ हजार अस्थायी आवास निर्माण

रुकुम पश्चिममा भूकम्प प्रभावित परिवारका २२ हजार बढी अस्थायी आवास निर्माण भएका छन् । हालसम्म जिल्लामा २९ हजार ४०६ जना लाभग्राही एकिन भएकोमा २२ हजार ८०८ वटा अस्थायी आवास निर्माण भएका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार आठविसकोट नगरपालिकामा सात हजार ८८२ वटा अस्थायी आवास निर्माण भएका छन् भने चौरजहारीमा चार हजार २३४ र मुसीकोट नगरपालिकामा   र ५९८ वटा अस्थायी आवास तयार भएका छन् । सरकारले दिएको अनुदान रकमबाट यी आवासहरु निर्माण गरिएको हो ।

सहायक प्रजिअ बढुवालले सानीभेरी गाउँपालिकामा पाँच हजार ३४५ वटा, त्रिवेणी गाउँपालिकामा दुई हजार ५६० वटा र बाँफिकोट गाउँपालिकामा दुई हजार १८९ वटा अस्थायी आवास बनेको बताउनुभयो । उहाँका अनुसार जिल्लाका छ वटै स्थानीय तहहरुमा अहिलेसम्म चार हजार ५७१ वटा अस्थायी आवास निर्माणको क्रममा रहेका छन् ।

प्रशासन कार्यालयका अनुसार हालसम्म लाभग्राही कायम भएका २९ हजार ४०६ घरपरिवारको लागि अस्थायी आवास बनाउन पहिलो किस्ताको रकम सम्बन्धित स्थानीय तहको स्थानीय विपद् कोषमा पठाईसकिएको छ ।

अस्थायी आवास निर्माणका लागि ७३ करोड ५१ लाख ५० हजार रुपियाँ निकाशा भईसकेको छ । स्थानीय तहहरुले भने २७ हजार २९३ जना लाभग्राहीको खातामा पहिलो किस्ताको रकम जम्मा गरेका छन् ।

प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्याङक अनुसार हालसम्म दुई हजार ११३ जना लाभग्राहीको खातामा पहिलो किस्ताकै रकम जम्मा भएको छैन । स्थानीय विपद् कोषबाट हालसम्म ६८ करोड नौ लाख ७५ हजार रुपियाँ लाभग्राहीको खातामा गएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले अझैपनि स्थानीय तहबाट भूकम्प प्रभावित लाभग्राही एकिन भएर आईरहेको बताउनुभयो । उहाँ अनुसार जिल्लाभर करिब ३२ हजार लाभग्राही पुग्ने अनुमान रहेको छ ।

पहिलो किस्ताकै रकम वितरणमा रहेका स्थानीय तहहरुले अस्थायी आवास निर्माण भएका लाभग्राहीहरुको लागि दोश्रो किस्ताको रकम अझैपनि माग गरेका छैनन् । भूकम्प पीडितहरुले भने पुनर्निर्माणको पर्खाई रहेको प्रतिक्रिया दिने गरेका छन् ।