त्रिवेणी ५ मा भूकम्प पीडितको अस्थायी आवासमा आगलागी ः दुइलाख बराबरकाे क्षेति

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ घोरनेटीमा आगलागीबाट एक भूकम्प प्रभावितकाे अस्थायी आवास पूर्ण रूपमा नष्ट भएको छ । खाना पकाउने क्रममा हावाले आगो उडाएर कपडामा सल्किदा स्थानीय चन्द्रकला घर्तीको अस्थायी आवास पुर्ण रुपमा नष्ट भएको हो । मङ्गलवार साँझ लागेको आगो परिवारले नियन्त्रण गर्न नसक्दा अस्थायी आवासमा भएका लत्ताकपडा, खाद्यान्न, भाडावर्तन, नागरिकता, जन्मदर्ता लगायतका कागजात जलेर नष्ट भएको वडा अध्यक्ष रणबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ । गत कात्तिक १७ गते गएको भूकम्पले घर भत्किएपछि घर्तीको ७ जनाको परिवार अस्थायी आवासमा बस्दै आएकाे थियो । अस्थायी आवासमा आगलागी भएपछि बस्ने ठाउँ समेत नरहेको वडा अध्यक्ष पुनले जानकारी दिनुभयो ।

वडामा कुनै बजेट नभएकाले आवास निर्माण गर्न स्थानीय युवा परिचालन गर्ने र जस्तापाताको लागि गाउँपालिका सँग समन्वय गर्ने वडाले जनाएको छ । पीडित परिवारलाई तत्कालको लागि राहत स्वरूप १ बोरा चामल, ५ पोका नुन, १ पेटी तेल र ५ किलो दाल सहयोग गर्न लागिएको वडा अध्यक्ष पुनले जानकारी दिनुभयो ।