रुकुम पश्चिम महोत्सव: आज चर्चित गायक पशुपति शर्मा आउने

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा छैटौँ दिन आज पनि महोत्सव जारी रहने छ । महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राखिरहेका छन् । महोत्सवमा आज चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा आउने सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो ।

 

सयौँ गीत मा स्वर तथा शब्द दिनुभएका शर्माका थुप्रै गीत चर्चित छन् । छैटौँ दिन महोत्सवमा शर्माले मनोरञ्जन दिने परियारले बताउनुभयो । मङ्गलवार चर्चित नायिका तथा मोडल ज्योति मगरले प्रस्तुति राख्नुभएको थियो । मङ्गलवार ज्योतिको प्रस्तुति हेर्न हजारौँ दर्शक बराहटाकुरा पुगेका थिए । आज पनि दर्शक सङ्ख्या उल्लेख्य रहने आयोजकले विश्वास लिएको छ ।

 

महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह सहित चर्चित हास्य कलाकार धुर्मुस–सुन्तली लगायतका कलाकार आउने आयोजकले जनाएको छ । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा शुक्रवार देखि महोत्सव सुरु भएको हो ।।