त्रिवेणी गाउँपालिकामा पहिलो त्रिवेणी व्यापार तथा सांकृतिक महोत्सव हुने

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पहिलो त्रिवेणी व्यापार तथा सांकृतिक महोत्सव हुने भएको छ । यही वैशाख १४ गतेदेखि २४ गतेसम्म त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा महोत्सव सञ्चालन हुने भएको हो । ‘‘परम्परागत संस्कृति मौलिक कला, विकृती विसंगती हटाउने हाम्रो गला’’ भन्ने मुल नाराका साथ मयूर युवा क्लवले महोत्सव आयोजना गर्न लागेको हो ।

आज मुसिकोट नगरपालिका १ खलंगामामा पत्रकार सम्मेलन गरेर मयूर युवा क्लवका सचिव सोमपाल कामीले महोत्सव लाग्ने बारेमा जानकारी बनाउनुभएको हो । मयूर युवा क्लवको आयोजना तथा राप्ती साहित्य परिषद रुकुम पश्चिमको समन्वयमा महोत्सव सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । महोत्सवकोे व्यवस्थापन सिम्रुतु बजार व्यवस्थापन समितिले गर्ने छ । भने संरक्षकको रुपमा त्रिवेणी गाउँपालिका रहेको छ ।

महोत्सवमा ५० वटा व्यापारिक स्टल राखिने आयोजकले जनाएको छ । १० वटा स्टल भने स्थानीय व्यापारिलाई ५० प्रतिशत छुटमा उपलब्ध बनाइने क्लवका सचिव कामीले बताउनुभयो । महोत्सवमा स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य वस्तुलाई समेत प्रचार गरिने बताएको छ । महोत्सवमा स्थानीय कलाकार सँगै राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहेने आयोजकले जनाएको छ ।

महोत्सवमा आउने कलाकारहरु अझै टुङगो नलागेकाले केहि दिनमा कलाकारहरुको टुङगो लागेपछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । त्रिवेणी गाउँपालिकामा मयूर युवा क्लवले सिम्रुतुमा पहिलो पटक महोत्सव आयोजना गर्दै छ ।