रुकुम पश्चिमका छ वटा स्थानीय तह मध्य त्रिवेणी गाउँपालिका कार्य सम्पादनमा उत्कृष्ट

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले आर्थिक वर्ष ०७९÷८० को स्थानीय तहको कार्य सम्पादन मूल्याङकन नतिजा सार्वजनिक गरेको छ ।

संवैधानिक निकायको रुपमा रहेको आयोगले मंगलबार स्थानीय तहहरुको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार रुकुम पश्चिमका छ वटा स्थानीय तह मध्य त्रिवेणी गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको छ ।

त्रिवेणी गाउँपालिकाले ४७.३६ अंक प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर घर्तीले जानकारी दिनुभयो । त्यसैगरी बाँफिकोट गाउँपालिकाले ४४.२४, आठविसकोट नगरपालिकाले ४२.१६, चौरजहारी नगरपालिकाले ४१.७०, मुसिकोट नगरपालिकाले ४१.३१ र सानीभेरी गाउँपालिकाले ३५.२८ अंक प्राप्त गरेका छन् ।

कार्य सम्पादन मूल्याङन नतिजा, भूगोल तथा भारित लागत, जनसङख्या, मानव विकासको अवस्था लगायतको अवस्थालाई आधार लिई आगमी आर्थिक वर्षको समानिकरण अनुदान तथा बित्तिय हस्तान्तरण गरिने प्रचलन रहेको छ ।

यो नतिजा प्रारम्भिक रहेकोले चित्त नबुझेमा सात दिनभित्र दाबी पेश गर्न पाईने आयोगले जानकारी गराएको छ ।।