कर्णालीकै सर्वाधिक पुरस्कार राशिको खुला ब्याडमिन्टन रुकुम पश्चिममा हुदै

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजनामा मुसिकोट खलङ्गाको बराहटाकुरामा हुन लागेको महोत्सवको अवसरमा खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो । सङ्घले फागुन १८ देखि २८ गतेसम्म सञ्चालन हुने गरी ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव २०८०’ आयोजना गरेको छ । 

 

यसै अवसरमा खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरिएको रुकुम उद्योग वाणिज्य सङ्घका महासचिव अनिल बुढाले जानकारी दिनुभयो । ब्याडमिन्टन फागुन २३ देखि २५ गतेसम्म बराहटाकुरा कवर्डहलमा सञ्चालन हुने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा देशभरका ब्याडमिन्टन खेलाडीले सहभागिता जनाउन पाउनेछन् । तर नेपाल ब्याडमिन्टन सङ्घको वरीयतामा समावेश खेलाडीहरूले भने खेल्न नपाउने महासचिव बुढाले जानकारी दिनुभयो । 

 

पुरस्कार राशिका हिसाबले यो प्रतियोगिता कर्णाली प्रदेशकै हालसम्मको ठुलो प्रतियोगिता रहेको बुढाले बताउनुभयो । प्रतियोगिताको विजेता जोडीले ७० हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाण पाउने उहाँको भनाई छ । उप विजेता जोडीले नगद ५० हजार पाँच सय ५५, साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा सान्त्वना हुने दुई जोडीले समान १५ हजार पाँच सय ५५ रुपैयाँ नगद, मेडल र प्रमाण पत्र पाउने महासचिव बुढाले जानकारी गराउनुभयो । दर्ता शुल्क दुई हजार तोकिएको छ ।