त्रिवेणी गाउँपालिका ३ मा हाईबाङ महिला महिलासमुहले गाेरेटाे बाटाे बनाउदै

त्रिवेणी गाउँपालिका वडा नम्वर ३ हाईबाङमा रहेको नवजागरण महिला समुहले सशक्तिकरणसँगै आर्थिक उपार्जन र विकास निर्माणका काममा क्रियाशिलता दिएको छ ।

समुहका अध्यक्ष कमला खड्काले मासिक बैठक, छलफल, वचत, लगानी गरिरहेको समुहले अहिले गाउँकै बाटो मर्मतको काम गरिरहेको जानकारी दिनुभयो । समुहले स्वयमसेवी रुपमा गोरेटो बाटो निर्माणको काम गरेको हो । उहाँका अनुसार समुहमा आवद्ध २८ जना महिलाहरुले वर्षायाम तथा असोज र कात्तिकमा परेको पानीले बिगारेका गोरेटो बाटो मर्मत गरिरहेको छ ।

पहिलो चरणमा हाईबाङ गाउँदेखि झुल्नेटा बजार जाने सडकसम्म पुग्ने गोरेटो बाटो निर्माण सम्पन्न भएको छ । त्यसैगरी सोहि समुहले वडा नम्वर ३ को हाईबाङ देखि वडानम्वर ४ को खुम्चेरीसम्मको गोरेटो बाटो पनि मर्मतको काम सुरु गरेको छ । यी दुबै गोरेटो बाटोको लम्बाई करिब तीन किलोमिटर रहेको छ ।

 

समुहका सचिव लक्ष्मी खड्का ओलीले सवारी साधन चल्ने सडक हुँदै झुल्नेटा जाँदा एक घण्टा लाग्ने गरेकामा अव गोरेटो बाटोहुँदै जाँदा छोटो र सजिलो भएको बताउनुभयो । गोरटो बाटो बनेपछि विद्यालय जाने बालबालिका लगायत अरुलाई आधाघण्टा दुरी छोटिएको उहाँको भनाई छ ।

समुहमा आवद्ध सदस्यहरुले आ–आफ्नो घरबाट गैचि, बेल्चा, हँसिया र कोदालो लिएर सडक मर्मत गरेको अध्यक्ष खड्काले बताउनुभयो । उहाँले सडकको बाटो लामो हुने, वर्षापछि बन्द हुने र गाउँका सबैजनाले यातायातका साधनको प्रयोग नगर्ने भएकोले गोरेटो बाटो बनाउनु परेको बताउनुभयो । बर्षाको पानी र भलले बाटो चिरेको, खोल्सा बनाएको र भत्काएको हुँदा गोरेटो बाटो उपयोगमा आएको थिएन ।

सचिव ओलीका अनुसार गत वर्ष मात्र स्थापना गरिएको समुहमा अहिले मासिक बैठकका क्रममा समुहका सदस्यहरुले जनहि एक सय रुपियाँ वचत गरिरहेका छन् । वचत भएको उक्त रकम गाउँमै उत्पादनका काममा लगानी गरिन्छ । समुहकै सदस्यलाई प्राथमिकता दिएर बाख्रापालन, कुखुरापालन, तरकारी खेती लगायतका काममा लगानी गरेको उहाँले जनाउनुभयो ।

वडा नम्वर ३ का वडा अध्यक्ष दिपेन्द्र कुमार ओलीले महिला समुहले स्वतस्फूर्त रुपमा गोरेटो बाटो मर्मतको काम गरेको बताउनुभयो । गोरेटो बाटो मर्मतपछि स्थानीयलाई बजार र बालबालिकाहरुलाई विद्यालय आउजाउ गर्न सहज भएको उहाँले जनाउनुभयो । महिला समुहले उदाहरणिय काम गरेको र वडा कार्यालयले पनि आवश्यक साथ र सुझाव दिईरहेको अध्यक्ष ओलीको भनाई छ । यसले सकारात्मक सन्देश दिएको उहाँको बुझाई छ ।

स्थानीय बुद्धिजिवि गणेश ओलीले कुनै पनि निकायको एक पैसा सहयोग नलिई महिला समुहले निस्वार्थ सामाजिक काम गरिरहको बताउनुभयो । यो उल्लेखनिय कामले आफूहरु प्रभावित भएको उहाँको भनाई छ । महिला समुहको नेतृत्वमा भएको गोरेटो बाटो मर्मत तथा सरसफाई कार्यले बाटोको सुधार भई आउजाउमा सहज भएको ओलीले उल्लेख गर्नुभयो ।

श्राेतः मुलपाटि डटकम