रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका ३० जना किसानहरुलाई आधुनिक तथा व्यवसायिक तरकारी खेतीका लागि तालिम प्रदान गरिएको छ ।
गाउँपालिकाको वडा नम्वर १, २ र ५ का ३० जना किसानहरुलाई कात्तिक २५ गतेदेखि २७ गतेसम्म तीन दिन उक्त तालिम प्रदान गरिएको हो ।
यसका साथै तरकारी खेतीमा आधुनिक प्रविधिको प्रयोगमा प्रोत्साहन गर्न र व्यवसायिक तरकारी उत्पादनमार्फत कृषकहरूको आयवृद्धि गरेर जीवनस्तर सुधार गर्ने उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको हो ।
सामारिटन पर्स क्यानडाको आर्थिक सहयोगमा नेपाल खी्रष्टियन राहत सेवा (एनसिआरएस) ले उक्त तालिम सञ्चालन गरेको हो । एनसिआरएस परियोजना अधिकृत मदन बुढाका अनुसार आधुनिक प्रविधि, विधि र उपकरणहरूको प्रयोगमार्फत किसानहरूको तरकारी उत्पादन क्षमतालाई बढाउने र व्यवसायिक तरकारी खेतीमा आवश्यक प्राविधिक ज्ञान, मलजल व्यवस्थापन, रोग तथा कीट नियन्त्रण, माटो व्यवस्थापन जस्ता सीपहरूको ज्ञान प्रदान गर्न तालिम आयोजना गरिएको हो ।
परियोजना अधिकृत बुढाका अनुसार तालिममा १४ जना महिला र १६ जना पुरुष किसानहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुन, कृषि अधिकृत (छैठौ) मुना घर्ती पुन र कृषि प्राविधिक कमल खड्काले गर्नुभएको थियो ।
तीन दिनको तालिम समापन पश्चात तालिममा सहभागि सबै किसानहरुलाई विभिन्न कृषि सामाग्री र नगद रकम समेत प्रदान गरिएको छ । सहभागी प्रत्येक किसानहरुलाई ६० लिटरको ड्रम, आठ प्रकारका विभिन्न बीउ विजनहरु, प्लाष्टिक टनेल उपलब्ध गराईएको छ । यसका साथै बाँस खरिदको लागि जनही एक हजार दुई सयको दरले नगद रुपियाँ समेत उपलब्ध गराईएको छ ।
बुधबार भएको तालिम समापन समारोहमा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, वडा नम्वर १ का वडा अध्यक्ष सुन्दर ओली, वडा नम्वर ५ का वडा अध्यक्ष रण बहादुर पुन, वडा नम्वर ६ का वडा अध्यक्ष भद्रबहादुर सिर्पाली, वडा नम्वर २ का वडा सदस्य भगवती कठायत लगायतको आतिथ्यता रहेको थियो ।
श्राेत ः मुलपाटि डट कम