तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्दै खाद्य कम्पनी

नेपालमा  चाडपर्व लक्षित खाद्य वस्तुहरुको आपूर्ति र व्यवस्था मिलाउने एउटा सरकारी निकाय पनि छ । त्यो हो, खाद्य व्यवस्था तथा व्यापार कम्पनी । यो कम्पनीले काठमाडौं उपत्यकामा दशैंलाई लक्षित गरेर करिब तीन हजार गोटा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले हरेक वर्ष सर्वसुलभ रुपमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको कम्पनीले यस वर्ष पनि दशैंका लागि खसीबोका ल्याउने तयारी गरेको जानकारी दिईन् । उनले भनिन्, ‘यस वर्षको दशैंका लागि हामीले तीन हजार गोटा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी थालेका छौं । जसमा दुई हजार गोटा खसीबोका खरिद गर्छौ भने तीन हजार गोटा च्याङ्ग्रा खरिद गर्ने तयराी थालेका छौं ।’

कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिदका लागि अनुमानित ६ करोड रुपैयाँ बजेट छुट्याइएको सूचना अधिकारी न्यौपानेले जानकारी दिइन् । यो बजेटमा सर्वसाधारणको मागका आधारमा घटबढ हुनुसक्ने उनको भनाई रहेको छ ।

उनका अनुसार कम्पनीले लाहान, वीरगञ्ज, मुस्ताङ, दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । यसका साथै उपलब्धताका आधारमा कुन ठाउँबाट कति किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको छ ।

साथै उनले खाद्यका खसीबोका निजीभन्दा सस्तो हुने समेत उनले बताईन् । उनले भनिन्,  ‘अहिले नै मूल्य यति पर्छ भन्न सकिन्न । हामीले खरिदका आधारमा मूल्य निर्धारण गर्नु पर्ने हुन्छ । तर, खाद्यका खसीबोका र च्याङ्ग्रा निजीभन्दा सस्तो नै हुन्छन् ।’

साथै खाद्य कम्पनीले देशका विभिन्न स्थानमा दशैं तिहार लक्षित सहुलियत पसल पनि सञ्चालनमा ल्याउने तयारी थालेको छ । कम्पनीले नजिकिँदै गरेको दशैं, तिहार, छठ जस्ता पर्वलाई लक्षित गरी सहुलियत मूल्य पसल यहि भदौ महिनादेखि नै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाई छ ।

उनका अनुसार उक्त सहुलियत पसलमा विभिन्न भेराइटीसम्ममा चामल लगायतका अन्य खाद्य वस्तुहरु उपलब्ध हुनेछन् । फरक फरक प्रकारका उपभोक्ताको स्वाद र खरिद सामथ्र्यलाई ध्यानमा राखेर एक वस्तुका पनि धेरै भेराईटी उपलब्ध गराउँदै आएको छ । यसबारे थप स्पष्ट पार्दै उनले सहुलियत पसलमा सबै भेराईटीमा चामल उपलब्ध गराउने तयारी रहेको छ ।